नेपाली कांग्रेसको गगन थापा–विश्वप्रकाश शर्मा समूहको अगुवाइमा बोलाइएको विशेष महाधिवेशनले गगन थापालाई पार्टी सभापति चयन गरेको छ। कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरका आधारमा विधानअनुसार आह्वान गरिएको चारदिने विशेष महाधिवेशनले थापालाई सर्वसम्मत सभापति बनाएको हो। यसअघि देउवा पक्षको केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरे पनि विशेष महाधिवेशनको हलले उक्त निर्णय खारेज गरेको छ।
जेनजी आन्दोलनपछि नेतृत्व रुपान्तरणको एजेण्डा बोकेर थापा–विश्व समूहले समयमै महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका थिए। तर चुनावअघि महाधिवेशन असम्भव भएको देउवा समूहको अडानपछि कांग्रेस विभाजनको सङ्घारमा पुग्यो। यही विद्रोहको विन्दुबाट विशेष महाधिवेशन सम्पन्न हुँदै थापा सभापति चयन भए। पार्टीको मूल नेतृत्व परिवर्तन, संगठन सुदृढीकरण र आन्तरिक लोकतन्त्र मजबुत बनाउने प्रस्तावहरू विशेष महाधिवेशनले अनुमोदन गरेको छ।
गगन थापा ०४६ सालको आन्दोलनका बेला बाल कांग्रेसका रूपमा राजनीतिमा प्रवेश गरेका नेता हुन्। नेविसंघको महामन्त्री हुँदै सडक आन्दोलन, संसद र सरकारसम्म सक्रिय भूमिका खेलेका उनले गणतन्त्र स्थापनाको आन्दोलनमा महत्वपूर्ण योगदान दिए। स्वास्थ्य मन्त्रीका रूपमा संरचनागत सुधारका पहल गरेका थापाले पार्टीभित्र सुधारका एजेण्डा अघि सार्दा विरोध, कारबाही र अन्ततः विभाजनसम्मको अवस्था झेले। राजतन्त्रविरुद्ध राजकाज मुद्दा खेपेका उनी पार्टीभित्र सुधारको संघर्षमा पनि विद्रोहकै बाटो हुँदै कांग्रेस सभापति बन्न सफल भएका छन्।

