नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले पार्टीभित्रको पुरानो सञ्चालन शैली अब समाप्त भएको स्पष्ट सन्देश दिनुभएको छ। उहाँले लामो समयदेखि पार्टीभित्र रहँदै आएको केन्द्रित र हेपाहा प्रवृत्तिको अन्त्य भएको बताउँदै अब पार्टीका कुनै पनि सदस्यलाई कसैले पनि हेप्न नसक्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो। “अब माथि बस्नेले तल बस्नेलाई आदेश दिने होइन, बरु तल बस्ने सदस्यलाई निहुरिएर सलाम गर्नुपर्ने समय आएको छ,” भन्दै उहाँले पार्टीभित्र समानता, सम्मान र लोकतान्त्रिक संस्कृतिको अभ्यास अनिवार्य भएको धारणा राख्नुभयो। नीतिमा परिवर्तन र नेतृत्वमा रूपान्तरणको माग पार्टी पंक्तिबाट स्वाभाविक रूपमा आएको भन्दै त्यसलाई सम्बोधन गर्न नेतृत्व तयार रहेको उहाँको भनाइ थियो।

गगन थापाले पार्टीभित्र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नहुने स्पष्ट पार्दै “यहाँ कुनै पनि ‘बा’ छैन, जसले नबोल भनेर भन्यो भने कोही चुप लाग्ने,” भन्ने सन्देश दिनुभयो। उहाँले नेपाली कांग्रेस देशलाई फेरि एकपटक भरोसा दिलाउन चाहेको बताउँदै त्यसका लागि आवश्यक परे तत्कालीन राजनीतिक संघर्षमा हार स्वीकार्न पनि तयार हुनुपर्ने अवस्था आउन सक्ने धारणा राख्नुभयो। “कहिलेकाहीँ युद्ध जित्न लडाइँ हार्न पनि तयार हुनुपर्छ,” भन्ने उहाँको भनाइले पार्टी सुधार र दीर्घकालीन उद्देश्यका लागि त्याग र साहस आवश्यक रहेको संकेत गरेको छ। विशेष महाधिवेशनबाट कांग्रेसलाई जनमुखी, पारदर्शी र भरोसायोग्य राजनीतिक शक्तिका रूपमा पुनः स्थापित गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

Avatar
Website |  + posts