नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयमा विशेष बैठक चलिरहेका बेला मिडियाबाहेक अरूलाई प्रवेशमा रोक लगाउने परम्परा पुरानै रहेको स्पष्ट पारेका छन्। राष्ट्रिय सभाको उम्मेदवारी चयनसम्बन्धी बैठकका कारण आज पनि यही व्यवस्था लागू गरिएको भए पनि कतिपयले नबुझ्दा बाहिर अनावश्यक समस्या उत्पन्न भएको उनले बताएका छन्।
महामन्त्री शर्माले राजनीतिमा समर्थन र विरोध स्वाभाविक भए पनि त्यसको अभिव्यक्ति मर्यादाभित्र रहनुपर्नेमा जोड दिएका छन्। अग्रज नेता विमलेन्द्र निधी पार्टी कार्यालय पुग्दा भएको व्यवहारलाई उनले स्पष्ट रूपमा गलत भन्दै यस्ता प्रवृत्तिलाई निरुत्साहित गरी स्वस्थ र सभ्य राजनीतिक संस्कारलाई मात्र प्रोत्साहन गर्नुपर्ने बताएका छन्।
‘विशेष महाधिवेशन पक्षधरले पार्टी कार्यालय घेराउ गर्ने’ भन्ने भ्रमपूर्ण हल्लाबारे पनि महामन्त्री विश्वप्रकाश शर्माले खण्डन गरेका छन्। विशेष महाधिवेशन पक्षधरहरूले बिहानै यस्तो कुनै कार्यक्रम नरहेको स्पष्ट गरिसकेको र स्वयं नेता निधीले समेत उक्त गतिविधि उनीहरूले नगरेको बताएका स्मरण गराउँदै, तथ्य हुँदाहुँदै पनि उनीहरूमाथि दोष थोपर्ने प्रयास दुःखद र निन्दनीय भएको उनको भनाइ छ।

