गौमुखी गाउँपालिकाले पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै फोटो तथा भिडियो निर्माण प्रतियोगिता सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै गाउँका प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेका पर्यटकीय स्थलहरूलाई प्रस्तुत गर्ने उद्देश्यले प्रतियोगिता खुला गरेको हो। यसका लागि विभिन्न संघसंस्था, युवाहरू तथा इच्छुक व्यक्तिहरूलाई सहभागी हुन अनुरोध गरिएको छ।

प्रतियोगितामा सहभागीहरूले आफैंले निर्माण गरेको मौलिक सामग्री प्रस्तुत गर्नुपर्नेछ। भिडियो २ देखि ५ मिनेट अवधिको हुनुपर्ने र फोटो–भिडियोहरू उच्च गुणस्तरका हुनुपर्ने गाउँपालिकाले जनाएको छ। तयार सामग्री फेसबुक, इन्स्टाग्राम, युट्युब वा ट्विटर जस्ता सामाजिक सञ्जालमा पोस्ट गरेको हुनुपर्ने मापदण्ड पनि तोकिएको छ। प्राप्त सामग्रीहरूको मूल्याङ्कन विशेष समितिद्वारा गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पौडेलले जानकारी दिनुभयो।

पुरस्कारका रूपमा भिडियोतर्फ उत्कृष्टलाई रु ३० हजार, दोस्रोलाई २० हजार, तेस्रोलाई १२ हजार र सान्त्वनालाई ६ हजार रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै, फोटोतर्फ पहिलो हुनेले रु १० हजार, दोस्रोले ७ हजार, तेस्रोले ५ हजार र सान्त्वनाले २ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। गाउँपालिकाले यस प्रतियोगिताबाट स्थानीय पर्यटकीय सम्पदाको प्रचार–प्रसारमा नयाँ ऊर्जाको सृजना हुने विश्वास लिएको छ।

Avatar
Website |  + posts