काठमाण्डौ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ। प्रतिनिधिसभा सदस्यको चुनाव घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटा दल दर्ताको निवेदन आएको र ती दलको कागजात अहिले विचाराधीन अवस्थामा रहेको आयोगले जानकारी दिएको छ।

जेनजी आन्दोलनपछि युवा पुस्ताको सक्रिय सहभागितासहित नयाँ दल दर्ताको क्रम देखिएको छ। चुनाव घोषणापछि धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टी लगायत जेनजी आन्दोलनका अगुवाहरुले समेत दल दर्ताका लागि निवेदन दिएका छन्। आवश्यक प्रक्रिया पूरा गर्ने दलहरुको आवेदन स्वीकृत गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन्।

हाल आयोगमा १२४ राजनीतिक दल दर्ता भइसकेका छन्। यसबीचमा दुई दल विभाजन भई संख्या बढेको हो। आयोगले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका तयारी तीव्र पारेको छ। निर्वाचनका लागि करिब साढे ७ अर्ब रूपैयाँ खर्च लाग्ने अनुमानसहित बजेटको प्रारूप तयार पारिएको र अन्तिम टुंगो अझै बाँकी रहेको आयोगले जनाएको छ।

 

Avatar
Website |  + posts