नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले भदौ २३ र २४ गतेको आन्दोलनका नाममा भएको हत्या र तोडफोड विदेशी शक्तिको योजनाअनुसार भएको आरोप लगाउनुभएको छ। भक्तपुरमा एमाले जिल्ला कमिटीले आयोजना गरेको शुभ दीपावली, नेपाल संवत् ११४६ नयाँ वर्ष तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उहाँले नेपाली जेनजी पुस्ताका युवाहरूको भावनामा खेल्दै विदेशीहरूले देशमाथि आक्रमण गरेको बताउनुभयो। उहाँका अनुसार ती घटनाहरू कुनै आन्दोलन नभई, नेपालको शासन प्रणाली अस्थिर पार्ने उद्देश्यले गरिएको सुनियोजित हमला थियो।
बस्नेतले आन्दोलनका क्रममा विदेशीहरूको निर्देशनमा तिब्बती मूलका समूहहरू सक्रिय भएको र बालबालिकालाई भावनामा बहकाएर हिंसात्मक गतिविधि गराइएको दाबी गर्नुभयो। उहाँका अनुसार विद्यार्थीहरूलाई स्कुल ड्रेसमै आन्दोलनस्थलमा पुर्याइयो र योजनाबद्ध रूपमा उनीहरूको हत्या गरियो। उहाँले आन्दोलनस्थलमा एसएलआर हतियारसम्म प्रयोग गरिएको र त्यो सबै तयारीसहितको विध्वंस थियो भन्ने दाबी गर्नुभयो।
कार्यक्रममा बस्नेतले काठमाडौंका मेयर बालेन साह, सुधन गुरुङ, ओमप्रकाश अर्याल र कुलमान घिसिङमाथि पनि आरोप लगाउँदै ती सबै विदेशी शक्तिका योजना अनुसार काम गरिरहेको दाबी गर्नुभयो। उहाँले बालेनले सिंहदरबार जलाउने खुला चुनौती दिएको, ओमप्रकाश र कुलमानलाई विदेशी सन्तुष्ट पार्न मन्त्री बनाइएको र भ्रष्टाचारमार्फत रकम सङ्कलन गरी नयाँ पार्टी खोल्ने तयारी भइरहेको आरोप लगाउनुभयो। साथै, उहाँले हालकी प्रधानमन्त्री सुशीला कार्कीलाई संविधानविपरीत प्रधानमन्त्री बनेको भन्दै ‘अवैध प्रधानमन्त्री’ को संज्ञा दिनुभयो।
एमाले नेता बस्नेतले आगामी सात महिनाभित्र एमालेले देश ध्वस्त पार्ने प्रयासमा संलग्न सबैमाथि कानुनी कारबाही गर्ने चेतावनी दिनुभयो। उहाँले सुशीला कार्की, ओमप्रकाश अर्याल, सुधन गुरुङ र बालेन साहलाई भदौ २४ का घटनाका मुख्य अभियुक्तका रूपमा औंल्याउँदै मुद्दा दायर गरिने बताउनुभयो। अन्त्यमा उहाँले एमालेभित्र आन्तरिक एकता र शुद्धीकरण अभियानको आवश्यकता औंल्याउँदै केपी शर्मा ओली पुनः अध्यक्ष बन्ने तयारीमा रहेको र ओलीविरुद्ध बोल्नेहरूलाई पार्टी महाधिवेशनमै प्रतिस्पर्धा गर्न चुनौती दिनुभयो।
