दिपावली (तिहार) २०७२को अवसरमा जिल्ला प्रशासन कार्यालय प्युठानले सम्पूर्ण जिल्लावासीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै, पर्वलाई हर्षोल्लासपूर्ण, सभ्य र शान्तिपूर्ण रूपमा मनाउन आग्रह गरेको छ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै दिपावलीका समयमा हुन सक्ने अवाञ्छित गतिविधिहरु नियन्त्रण गर्न सबैलाई सचेत रहन अनुरोध गरेको छ। साथै, स्थानीय प्रशासन ऐन, २०२८ र प्रचलित कानुनअनुसार उल्लंघन गर्नेहरूमाथि कारबाही गरिने चेतावनीसमेत दिएको छ।
सूचनामा विशेष सावधानीका केही बुँदाहरू उल्लेख गरिएका छन्। जसअनुसार बिजुली, मैनबत्ती, दियो, प्याला जस्ता सामग्री सावधानीपूर्वक प्रयोग गर्न, पटका, आतिसबाजी, झिरझिरे, भुईँचम्पा जस्ता विष्फोटक पदार्थको प्रयोग नगर्न, मादक पदार्थ सेवनपछि सार्वजनिक स्थलमा होहल्ला वा झगडा नगर्न भनिएको छ।
त्यस्तै, देउसी–भैलो लगायतका सांस्कृतिक कार्यक्रम राति १०:०० बजेभित्र सम्पन्न गर्न, सार्वजनिक यातायात तथा जनजीवनलाई असर नपर्ने गरी शान्तिपूर्ण र मर्यादित रूपमा सञ्चालन गर्न, भिडभाड र अशान्ति सिर्जना हुने कार्य नगर्न समेत अपिल गरिएको छ।
जुवा, तास, लंगुरबुर्जा जस्ता खेलहरू नखेल्न र नगर्न अनुरोध गर्दै प्रशासनले सबै प्युठानवासीलाई दिपावली पर्वले आपसी सद्भाव, प्रेम र एकताको सन्देश फैलाओस् भन्ने शुभकामना व्यक्त गरेको छ।

