नेपालले ओमनमा सम्पन्न आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ। शनिबार सम्पन्न अन्तिम खेलमा सामोआलाई पराजित गर्दै नेपालले शतप्रतिशत जितसहित उपाधि हात पारेको हो। यससँगै नेपालले सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ। ओमन दोस्रो र युएई तेस्रो स्थानमा रहँदै विश्वकपमा पुगेका छन्।
टस हारेर पहिले ब्याटिङको अवसर पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रनको विशाल योगफल तयार गरेको थियो। नेपालका ओपनर आसिफ शेखले ४१ बलमा ६९ रन र दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको अर्धशतकीय योगदान दिए। कप्तान रोहित पौडेलले १२ बलमा २१ रन र लोकेश बमले १२ बलमा ३९ रनको अविजित पारी खेले।
जवाफी लक्ष्य पछ्याएको सामोआ २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रनमा सीमित रह्यो। सामोआका सेन सोलियाले सर्वाधिक ४० रन बनाए। नेपालका ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एक–एक विकेट हात पारे। यो जितसँगै नेपालले आफ्नो क्रिकेट इतिहासमा अर्को ठूलो सफलता जोड्न सफल भएको छ।

