काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन्। आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै उनले “पार्टीभित्र आलोचना सहन नसक्ने, गल्ती स्वीकार नगर्ने र निरन्तर गलत कामलाई ढाकछोप गर्ने प्रवृत्ति” का कारण आफूले पार्टी छोड्ने निर्णय गरेको घोषणा गरिन्।

श्रेष्ठले लेखेकी छिन्, “कहिल्यै गल्ती नस्विकार्ने, गल्तिमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने अवस्था सिर्जना भएको छ। पार्टीभित्र आलोचना गर्नेहरूविरुद्ध मिडिया ट्रायल गर्ने प्रचलन सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेदेखि नै म आलोचना गर्दै आएकी थिएँ, तर त्यसले कुनै फरक पारेन। बरु उल्टै मिडिया ट्रायलको सिकार भएँ। यो स्वीकार्य छैन।”

उनले आरएसपीको नेतृत्वलाई लक्षित गर्दै अब “मनलाग्दी चलाउन सहज बनाउन म बाहिरिन्छु, I QUIT (मैले पार्टी छोडेँ)” भन्दै स्पष्ट सन्देशसमेत दिएकी छिन्।

त्यससँगै उनले परम्परागत ठूला दलहरू कांग्रेस र एमालेका तेस्रो पुस्ताका नेताहरूमाथि पनि प्रश्न उठाएकी छिन्। श्रेष्ठले भनेकी छन्, “आजको परिस्थिति आउनुमा तपाईंहरूको नेतृत्व जिम्मेवार छ। किन अझै नेताहरूलाई पुजा गर्दै बस्नुहुन्छ? अब सहि समय आएको छ—या त आफ्ना नेताहरूलाई हटाउनुहोस्, वा आफैं हट्नुस्।”

श्रेष्ठको पार्टी परित्यागलाई विश्लेषकहरूले रास्वपाभित्र पुनः आन्तरिक असन्तुष्टि सतहमा आएको संकेतका रूपमा लिएका छन्। केही समययता पार्टीले महत्त्वपूर्ण निर्णयहरूमा विवाद व्यहोर्दै आएको अवस्थामा उनका अभिव्यक्तिले नेतृत्वमाथि थप प्रश्न खडा भएको टिप्पणी भइरहेको छ।

 

Avatar
Website |  + posts