भाद्र २३ र २४ गते राजधानी काठमाडौंमा भएको अकल्पनीय दुर्घटनामा ज्यान गुमाएका होनहार युवाप्रति नेकपा एमाले जिल्ला कमिटी प्युठानले गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ।
पार्टीले जारी गरेको विज्ञप्तिमा काठमाडौंसहित देशका विभिन्न शहरमा अवसरवादी अराजक समूहको अगुवाईमा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनीका घटना भएको उल्लेख छ। प्युठानमा समेत सहीद उमेश चन्द्र स्मृति प्रतिष्ठानको भवनमा रहेको जिल्ला पार्टी कार्यालय तोडफोड, आगजनी गरी ऐतिहासिक दस्तावेज नष्ट गरिएकाले लाखौंको क्षति भएको बताइएको छ।

एमाले जिल्ला कमिटीले यस्तो घटनाको घोर निन्दा गर्दै तोडफोड र आगजनीमा संलग्नलाई कानुनी कठघरामा उभ्याउन माग गरेको छ। साथै मुलुकमा व्याप्त भ्रष्टाचारको छानबिनका लागि शक्तिशाली आयोग गठन गर्नुपर्नेमा जोड दिएको छ।
विज्ञप्तिमा प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनलाई असंवैधानिक कदम भन्दै त्यसविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने आह्वान गरिएको छ। पार्टीले संविधान र लोकतन्त्र जोगाउन निरन्तर संवाद र सहकार्य गर्न सबै दललाई आग्रह गरेको छ।

