प्युठान, भाद्र २८ – भदौ २३ र २४ गते भएको Gen-Z आन्दोलनका क्रममा ज्यान गुमाउने सम्पूर्ण सहिदहरूप्रति नेपाली कांग्रेस प्युठान (ख) ले गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। साथै आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ।

विज्ञप्तिमा कांग्रेसले देशले भोग्नुपरेको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै विगतका ऐतिहासिक आन्दोलन र लोकतान्त्रिक यात्रामा भएका योगदानलाई स्मरण गरेको छ। साथै कमीकमजोरीहरूको समीक्षा गर्दै भविष्यमा अझ परिष्कृत रूपले अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।

कांग्रेस प्युठान (ख) ले केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा लगायत नेतामाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै उहाँहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि व्यक्त गरेको छ।

यस्तै, पार्टीभित्र देखिएका असन्तुष्टि र आन्तरिक विवादमा युवाहरूको ध्यानाकर्षण भएको भन्दै, सभापतिसहित शीर्ष नेताको निवासमा भएको तोडफोड र आक्रमणको निन्दा नगरी केवल राजीनामाको माग गर्नु विधिसम्मत नभएको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेस अनुशासन, विधि र पद्धतिको जगमा उभिएको पार्टी हो। यसलाई अक्षुण राख्न सम्पूर्ण नेता–कार्यकर्तामा विधि पालना, धैर्य र सद्भाव कायम राख्न आग्रह गर्दछौँ।”

विशेषगरी संकटको यस घडीमा संयम र विवेक देखाउँदै शीर्ष नेताहरूको स्वास्थ्यलाभको समयसम्म प्रतीक्षा गर्नुपर्ने ठहर कांग्रेस प्युठान (ख) ले गरेको छ।

 

Avatar
Website |  + posts