प्युठान — परम्परागत धानखेती हुने प्युठानको झिमरुक फाँटमा हाल ड्रागन फ्रुटको खेतीले नयाँ सम्भावना देखाएको छ। करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको ‘इशान एग्रो फार्म’ मा यस वर्ष ड्रागन फ्रुट उत्पादनबाट ४० लाख रुपैयाँसम्म आम्दानी हुने अपेक्षा गरिएको छ।

स्थानीय नवीनकुमार श्रेष्ठ र लोकबहादुर गुरुङले सञ्चालन गर्दै आएको फार्ममा अहिले लटरम्म ड्रागन फ्रुट फलेका छन्। चार वर्षदेखि निरन्तर रुपमा खेती हुँदै आएको यो फार्मले गत वर्ष ३२ लाख रुपैयाँ आम्दानी गरेको थियो। “पहिलेको तुलनामा बजार मूल्य केही घटे पनि आम्दानीमा वृद्धि हुने अनुमान छ,” सञ्चालक श्रेष्ठले बताए। अहिले फार्मले ड्रागन फ्रुट ४५० रुपैयाँ प्रतिकिलोको दरमा बिक्री गरिरहेको छ।

ड्रागन खेतीका लागि करिब ५५ लाख रुपैयाँ लगानी गरिएको फार्मले उत्पादनका साथै बिरुवा पनि बिक्री गर्दै आएको छ। उत्पादित ड्रागनमध्ये ६० प्रतिशत जिल्ला बाहिर र बाँकी ४० प्रतिशत जिल्लाभित्रै बिक्री हुने गरेको श्रेष्ठले जानकारी दिए।

उनी भन्छन्, “जिल्ला बाहिर लोकप्रिय भइसकेको व्यवसायलाई जिल्लामै विस्तार गरेर स्थानीय बजार निर्माण गर्ने उद्देश्यले यसतर्फ लागिएको हो।”

इशान एग्रो फार्मलाई अर्ग्यानिक उत्पादन केन्द्रको रूपमा विकास गर्ने लक्ष्य लिएको श्रेष्ठले बताए। “हामीले कुनै प्रकारको रासायनिक विषादी प्रयोग गर्दैनौं,” उनले जोड दिए। फार्ममा ड्रागन फ्रुटसँगै अम्बा र कुरिलोको पनि व्यावसायिक खेती गरिएको छ।

 

 

Avatar
Website |  + posts