सलिम मियाँ,
शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले प्युठान नगरपालिकाले दुई सामुदायिक विद्यालयलाई ‘नगर पुरस्कार’ अन्तर्गत नगदसहित सम्मान गर्ने निर्णय गरेको छ।
नगर शिक्षा समितिको असार २२ गते सम्पन्न बैठकले २०८१/८२ को शैक्षिक सत्रमा उत्कृष्ट नतिजा ल्याएका विद्यालयहरूलाई पुरस्कृत गर्ने निर्णय लिएको हो। कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (SEE) मा नगरभित्र सर्वोत्कृष्ट नतिजा ल्याएको शारदा माध्यमिक विद्यालय, सापडाँडा (वडा नं. ३) लाई रु. ३ लाख र कक्षा ८ को परीक्षा नतिजामा उत्कृष्ट ठहरिएको बालज्योति माध्यमिक विद्यालय, गेजवाङ (वडा नं. ८) लाई रु. २ लाख प्रदान गरिने नगरपालिकाले जनाएको छ।
नगरप्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष सुमनराज श्रेष्ठका अनुसार, सामुदायिक विद्यालयहरूलाई उत्साहित गर्दै शैक्षिक प्रतिस्पर्धा र गुणस्तर सुधारमा टेवा पुगोस् भन्ने उद्देश्यले नगरस्तरीय पुरस्कारको व्यवस्था गरिएको हो। उनले भने, “यस प्रकारको प्रोत्साहनले शिक्षालयहरूमा सकारात्मक प्रतिस्पर्धा र अभिभावक–विद्यार्थीमा पनि उत्साह थपिने अपेक्षा लिएका छन।”

