काठमाडौं, जेठ १८ — राजावादी समूहले सोमबार (जेठ १९) काठमाडौं उपत्यका बन्दको घोषणा गरेको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंहसहितका नेताहरू पक्राउ परेपछि नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले उपत्यका बन्दको आह्वान गरेको हो।
समितिले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीले थापा, सिंहलगायत नेताहरूलाई अमानवीय ढंगले गिरफ्तार गरेको आरोप लगाएको छ। विज्ञप्तिमा भनिएको छ, “सरकारको बर्बर दमनको विरोधमा हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौं। त्यसैअनुसार हामीले सोमबार उपत्यका बन्दको निर्णय गरेका हौं।”
प्रेस विज्ञप्तिमा सरकारसँग पक्राउ परेका नेताहरूको तत्काल रिहाइको मागसमेत गरिएको छ। साथै, आन्दोलनमा सहभागी सम्पूर्ण कार्यकर्तालाई आ–आफ्नो टोल, चोकमा बसेर सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।
राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रबाट प्रदर्शन गर्दै बालुवाटारतर्फ जान खोज्दा प्रहरीले राप्रपा नेपाल अध्यक्ष कमल थापा, सांसद दीपक सिंहलगायत थुप्रै नेता तथा कार्यकर्तालाई पक्राउ गरेको थियो।

