आज मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले हरायो। यो जितमा मुम्बई प्ले अफ पुग्ने चौथो टिम बन्यो। मुम्बई प्ले अफमा पुगेको यो ११ औं पटक हो।
यसअघि गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैगलुरु र पन्जाब किङ्स प्ले अफमा पुगिसकेका छन्। हारमा दिल्ली लिग चरणबाट बाहिरिएको छ।
जितको लागि १ सय ८१ रनको चुनौती पछाएको दिल्ली १८.२ ओभरमा १ सय २१ रनमा अल आउट भयो। कमजोर सुरुवात गरेको मुम्बईका कप्तान फाप डु प्लेसिस र अभिषेक पोरेल समान ६ रनमा आउट भए।
केएल राहुल पनि ११ रनमा समेटिए। ३ विकेटको नोक्सानीमा दिल्लीले २७ रन मात्र बनायो। प्ले अफ पुग्न जित्नैपने यो खेलमा दिल्लीका ब्याटरले निराशाजनक प्रदर्शन गरे।
समिर रिज्भीले सर्वाधिक ३९ रन बनाए। विपराज निगमले २० र आशुतोष शर्माले १८ रन जोडे। अन्यले दोहोरो अंकमा रन छुन सकेनन्।
बलिङमा मिचेल स्यान्टनरले ४ ओभर बलिङ गर्दै मात्र ११ रन दिएर महत्वपूर्ण ३ विकेट लिए। जसप्रति बुमराहले ३ ओभर २ बलमा १२ रन खर्चेर ३ विकेट नै लिए।
त्यसअघि दिल्लीले टस जितेर फिल्डिङ रोजेको थियो। मुम्बईले पहिला ब्याटिङ गर्दै सूर्यकुमार यादवको अर्धशतकमा १ सय ८० रन बनाएको छ।
५८ रन जोड्दा ३ विकेट गुमाई सकेको मुम्बईका लागि सूर्यकुमार र तिलक बर्माले उकासेका थिए। उनीहरुले चौथो विकेटका लागि ५५ रनको साझेदारी गरे।
४३ बल खेलेका सूर्यकुमारले ७ चौका र ६ चौकामा नटआउट सर्वाधिक ७४ रन बनाए । तिलकले २७, ओपनर रायन रिकिल्टनले २५, अर्का ओपनर रोहित शर्माले ५ , कप्तान हार्दिक पाण्डेयले ३ रन जोडे।
नमन धिरले नटआउट २७ रन बनाए । बलिङमा मुकेश कुमारले २ विकेट लिए। जितमा मुम्बईले १३ खेलबाट १७ अंक बनायो। दिल्लीसँग १३ अंक मात्र छ।
यो पटक दिल्लीसँगै कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र चेन्नई सुपर किङ्स लिग चरणबाट बाहिरिएका छन्।

