काठमाण्डौ, १४ बैशाख । आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाखकृष्ण पक्षको औँसीका दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ । आज आमालाई मीठो खानेकुरा र उपहार दिई आशीर्वाद लिइन्छ । आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उहाँले गरेका काम सम्झने गर्छन् ।
वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवम् प्यारा हुन् भनी आमा र जन्मभूमिको महत्त्व दर्शाइएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा देवमणि भट्टराई बताउनुहुन्छ । यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्न नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ ।।

