घोराही, २२ चैत सुवास क्षेत्री
दाङको घोराहीमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । प्रदेश खेलकुद परिषद, लुम्बिनीको आयोजनामा जारी भएको प्रदेश स्तरीय प्रतियोगिता अन्तरगत शुक्रबार क्वाटरफाइनलका खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो । घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित जिल्ला समन्वय समितिको सहिद मञ्चमा फागुन २० गतेदेखि जारी प्रतियोगिता अन्तरगत क्वाटरफाईनलमा जीत निकाल्दै रुपन्देही, बाँके, रोल्पा र पाल्पा सेमिफाईनल प्रवेश गरेका छन् ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा महिला भलिबल खेलाडी सहभागी भएका प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरन गौतमले जानकारी दिनुभयो । प्रदेशमा दक्ष महिला खेलाडी उत्पादन गर्न र भलिबलको विकासका लागि प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको प्रदेश खेलकुद परिषद, लुम्बिनीले जनाएको छ । प्रतियोगिताको सेमिफाइनल र फाईनल खेल शनिबार हुने आयोजक प्रदेश खेलकुद परिषद लुम्बिनीले जनाएको छ ।
प्रतियोगिताको उपाधि जित्ने टीमले नगद एक लाख, मेडल, ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउने छ भने उपविजेता टीमले नगद पैसट्टी हजार, मेडल, ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउने आयोजक प्रदेश खेलकुद परिषदका सदस्य कैलाश रोका मगरले बताउनुभयो । यसैगरी, तृतीय पुरस्कार नगद पैतिस हजार, मेडल, ट्रफी र प्रमाण–पत्र र सान्त्वना हुने टीमले नगद पन्ध्र हजार प्रमाण–पत्र प्राप्त गर्ने उहाँले बताउनुभयो ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद दश हजार, मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिनुका साथै ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि जनही पाँच हजार, मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिने उहाँले बताउनुभयो ।

