घाेराहि २२ फागुन सुवास क्षेत्री
दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको लिग चरणका खेल सकिएसँगै सेमीफाईनल खेल्ने चार टीमको टुंगो लागेको छ ।
खुमबहादुर खड्का समाज विकास समिति दाङको आयोजनामा जिल्ला समन्वय समिति घोराहीको मञ्चमा मंगलबारदेखि जारी प्रतियोगितामा रोयल सिस्ने स्पोट्र्स अपराजित रहँदै समुह ‘ए’ को विजेता हुदा र ओली बंशावली समाज (चित्रालेखी) अपराजित रहँदै समुह ‘बी’ को विजेता हुँदै सेमीफाईनलमा प्रवेश गरेको छ । यसैगरी, समुह ‘बी’ को उपविजेता हुँदै न्यू होराईजन स्पोट्र्स क्लब र समुह ‘ए’ को उपविजेता भएर मणिमुकुन्द भलिबल क्लब अन्तिम चारमा प्रवेश गरेका छन् ।
अब शुक्रबार बिहान ९ बजे पहिलो सेमीफाईनलमा रोयल सिस्ने स्पोटर्स र न्यु होराईजन स्पोटर्स क्लब बीच खेल हुनेछ भने दोस्रो सेमीफाईनलमा वली बंशावली समाज (चित्रालेखी) र मणिमुकुन्द भलिबल क्लबबीच दिउँसो २ बजेपछि खेल हुने आयाेजकले जानकारी दिएकाे छ ।
फागुनको २४ गते शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टीमले नगद दुई लाख ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टीमले नगद एक लाख २५ हजार तथा तेस्रो हुने टीमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

