काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाह ले काठमाडौँ उपत्यकाका नदी तथा खोला किनारमा वर्षौँदेखि दोहोरिँदै आएको बाढीको जोखिम र त्यसले निम्त्याएको मानवीय संकटप्रति सरकार गम्भीर रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले प्रत्येक वर्ष बाढीका कारण हजारौँ नागरिक ज्यान जोगाउन मात्र सफल भएर आफ्नो सम्पत्ति त्याग्न बाध्य हुने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। उनले यस्तो समस्या अबका वर्षहरूमा पनि दोहोरिन नदिन जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु आवश्यक रहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहका अनुसार थापाथली, गैरीगाउँ, मनोहरा लगायतका खोला किनारका बस्तीहरूमा बसोबास गरिरहेका नागरिकलाई बल प्रयोग नगरी, पूर्ण मानवीय संवेदनशीलता अपनाउँदै सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ। उनले यस्ता बस्तीहरूका कारण काठमाडौँको ढल निकास प्रणाली अवरुद्ध भई नदी तथा खोला प्रदूषित हुने समस्या समेत बढ्दै गएको बताएका छन्। यसरी व्यवस्थित स्थानान्तरणले उपत्यकाको सरसफाइ र पूर्वाधार व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास सरकारले लिएको छ।

यसैगरी, प्रधानमन्त्री शाहले वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याएर दीर्घकालीन समाधान खोज्ने सरकारको योजना रहेको स्पष्ट पारेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र तथा सरकारका ‘१०० दिनमा गर्ने काम’ अन्तर्गत सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण रोक्ने प्रतिबद्धता सम्झाउँदै ती वाचा कार्यान्वयनका लागि आन्तरिक तयारी भइरहेको बताएका छन्। देशभर रहेका वास्तविक सुकुम्बासीलाई प्रक्रिया पूरा गरी यथाशीघ्र जग्गा उपलब्ध गराउने लक्ष्य सरकारको रहेको उल्लेख गर्दै उनले वर्षौँ पुरानो समस्याको स्थायी समाधान यही सरकारले गर्ने दाबी गरेकाछन्।

Avatar
Website |  + posts