हिन्दु नेपालीहरुको ठूलो पर्व दशै आजदेखि सुरु भएको छ। आज दशैंको पहिलो दिन घटस्थापना, हिन्दु नेपालीहरुले घरघरमा जमरा राखेर दशैंलाई स्वागत गर्दैछन्।घटस्थापना आश्विन शुक्ल प्रतिपदाको दिन पर्छ र यसै घरघरमा घट कलशको स्थापना गरी देवी देववताको आह्वान गरिन्छ। नेपाल पाञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको साइत बिहान ११ बजेर २५ मिनेट जाँदा रहेको जनाएको छ।
आज बिहानै नुहाइधुवाइ गरी खोला तथा नदीको बगरबाट बालुवा ल्याई घरको पूजा कोठामा राखिन्छ र त्यसमा त्यसमा मकै, जौ रोपिन्छ जसलाई जमरा भनिन्छ। जमरा वरपर उज्यालो र सूर्यको प्रकाश छेकेर अँध्यारो बनाइन्छ। देवी भगवतीलाई सबैभन्दा बढी मन पर्ने वनस्पती जमरा भएकाले उनलाई खुशी पार्न जमरा राखिएको हो।

आज राखिएको जमरा दशैको दशौं दिन अर्थात दशमीको दिन मान्यजनले टीकासँगै लगाइदिन्छन्। दशैको सुरुवाती दिन आज सरकारले सार्वजनिक विदा दिएको छ। त्यस्तै धेरै सरकारी विद्यालयहरु पनि आजदेखि विदा हुन्छन्। अन्य कार्यालयहरु भने आजको सातौं दिन अर्थात फूलपातीदेखि मात्र विदा हुन्छ। दशै नेपालका धेरै जनसंख्याले मनाउने पर्व हो। आफन्त र परिवारका सदस्यहरुसँगै बसेर चाड मनाउने प्रचलन भएकाले धेरै टाढा पुगेकाहरु पनि दशैको अवसर पारेर घर फर्किने गर्छन्। विदेशमा भएकाहरु पनि दशैंकै अवसरमा घर फर्किन्छन्।
